टिनएजर्सलाई धुवाँ र मदिराको ‘लत’मा लठ्याउँदैछन् लाउञ्ज र बार
पाेखरा | माघ २०, २०७९
अन्य दिनमा भन्दा शुक्रबारको साँझ लेकसाइडले मादक शैलीमा निम्ता दिन्छ पोखरेली र बाह्य पर्यटकलाई । यद्यपि, लाउञ्ज र बारहरुमा स्थानीय किशोर किशोरीको जमघट बढी हुन्छ । त्यसो त सबै उमेर समूहका ‘पार्टी गोएर्स’ भेटिन्छन् ताल किनारमा तर युवावस्थामा पाइँला राख्दै गरेका समूहको मस्ती लोभलाग्दो अनि ‘घातक’ छ ।
देशभर चल्तीमा रहेका रेष्टुरेन्ट, बार र लाउन्जहरुले किशोर उमेरका केटाकेटी र युवा युवतीमाझ खुल्लमखुल्ला मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य चुरोट एवं हुक्काको प्रचार प्रसार गरिरहेछ ।
सम्बन्धित व्यापारिक संस्थाले आफ्नो फेसबुक पेज र प्रायोजित पेजमार्फत देशैभर आकर्षक विज्ञापन र तस्बिरका माध्यमबाट गर्ने प्रचारले अचेल बार र लाउञ्जमा युवायुवती झुम्मिएको देखिनु सामान्य भएको छ । आयमूलक कर्ममा लाग्नु अगावै ‘पार्टी एनिमल’ बन्ने बाटोमा लाग्न यस्तै पेजहरुले उत्प्रेरक भूमिका खेलेका छन् ।
पोखराको लेकसाइड र पामे क्षेत्रमा खुलेका रेष्टुरेन्ट र बारहरुले सामाजिक सञ्जालमा छरपस्ट फिँजाएको तस्बिर हेर्दा त्यहाँ यस्तै उमेर समूहको बाहुल्यता देखिन्छ । यस्तै तस्बिरले उनीहरुको व्यापार, व्यवसायको प्रचारमात्र गर्दैन भर्खर युवावस्थामा लाग्दै गरेका समूहलाई पनि ‘लत’ बसाइरहेको छ ।
जुनसुकै व्यापार/व्यवसायलाई प्रवद्र्धन गर्न बिना विज्ञापन सम्भव छैन । विज्ञापनको संसारमा अहिले सामाजिक सञ्जाल अगाडी छ । यही सञ्जालको मुख्य प्रयोगकर्तामा युवा वर्गको बाहुल्यता छ । यही सञ्जालमार्फत आउने गर्छन् धुवाँ र मदिरामा लट्ठिएका युवा/युवतीहरुको तस्बिर ।

कपिलनाथ कोइराला अध्यक्ष, उपभोक्ता मञ्च गण्डकी प्रदेश
सामाजिक सञ्जालमा प्रायोजितरुपमा आउने विज्ञापन र तस्बिरलाई निश्चित स्थान र उमेर समूहलाई लक्षित गरी प्रचारप्रसार गर्न मिल्ने हुँदा नचाहँदैमा कसैले त्यसलाई हेर्नबाट रोक्न मिल्दैन । सोही कारण यस्ता पेजहरु बढी प्रभावकारी भएका छन् ।
रेष्टुरेन्ट एवं बारका यस्ता प्रचारमूलक सामग्री आफुले पनि सामाजिक सञ्जालमा निरन्तर देखेको बताउँदै उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले यसलाई ‘जटिल विषय’को संज्ञा दिए ।
इन्टरनेटको माध्यमबाट आउने प्रायोजित विज्ञापनले एकातिर देशको पैसा बाहिरिने र अर्काेतिर सामाजिक क्षति बढ्ने उनको चेतावनी छ ।
‘व्यवसायीले नाफा कमाउँदा सामाजिक र व्यक्तिगत घाटा बढेको छ’ कोइराला भन्छन् ‘विज्ञापनदाताले उपभोक्ताको स्वास्थ्यमा पारेको असरको क्षतिपुर्ति भर्नुपर्छ ।’ तस्बिर र भिडियोको प्रभावले उपभोक्ता कालान्तरमा दुव्र्यसनी भएको प्रशस्तै उदाहरण यही समाजमा भएको उनले दाबी गरे ।
सम्बन्धित निकायले विज्ञापन र व्यवसायको प्रकार र उसले गर्ने बजारीकरणको स्पष्ट मापदण्ड बनाउँन नसक्दा उपभोक्ताको स्वास्थ्यमा असर परेको बताउँदै उनले यस विषयमा जिल्लास्थित सरोकारवाला नियकासँग छिट्टै छलफल गर्ने बताए ।
बजार अनुगमन र नियमनलेमात्रै यस्ता प्रायोजित सामग्रीलाई रोक्न सकिने उनको ठहर छ ।
सामाजिक सञ्जालको प्रभाव सबैभन्दा बढी भएको स्वीकार्छन् वरिष्ठ मनोचिकित्सक निर्मल लामिछाने ।
‘पहिले पहिले सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन आउथ्यो’ लामिछानेले भने ‘सामाजिक र व्यक्तिगतरुपमा त्यसको दूरगामी असर परेको भएर नै रोकिएको हो ।’

निर्मल लामिछाने वरिष्ठ मनोचिकित्सक
विश्वमै रोकिएको त्यस्तो विज्ञापन अहिले सामाजिक सञ्जालमा छरपस्ट हुनु चिन्ताको विषय भएको उनको ठम्याई छ ।
‘सोसल मिडियालाई अनुशरण गर्ने, त्यहीबाट सिक्नेको संख्या ठूलो छ’ उनले भने ‘यही मिडियामा रक्सी र चुरोट सेवनको तस्बिरले युवावर्गलाई ध्वस्त बनाउँदैछ । ‘यस्ता पेज र विज्ञापन बन्द गर्नुपर्छ’ लामिछानेको सटिक भनाई छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गुरुदत्त ढकाल भने यसमा नियमन गर्न आवश्यक भएको बताउँछन् । तर कसरी नियमन गर्ने भन्ने प्रश्नमा उनी लाचार सुनिए ।
प्रजिअ ढकाल भन्छन् ‘कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालयले ठोस नीति बनाए सजिलो हुन्थ्यो, हामी शान्ति सुरक्षा दिने विषयमामात्र गम्भीर छौं ।’
प्रायोजित र लक्षित विज्ञापन सरकारी मापदण्ड विपरित भएपनि कुनै उजुरी नपरी एक्सनमा जान नमिल्ने ढकालको धारणा छ ।
व्यवसायीले कमसेकम मदिरा र सुर्तिजस्ता पदार्थको बिक्रीमा ‘वैधानिका प्रावधान’ उल्लेख गरेमात्रै पनि स्थिति भयावह नहुने केही अभिभावकाे धारणा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

